एमालेको विभाजन र १० बुँदे सम्झौता कार्यान्वयन

प्रारम्भ
नेपालका कम्युनिष्टहरू पटकपटक विभाजित भई कमजोर बन्दै आएका छन् । जब, साम्यवादी संगठित भई शक्ति आर्जन गर्न पुग्छन् आपसी कलह र व्यक्तिगत अभिष्ट पूरा गर्ने अस्वस्थ प्रतिस्पर्धाका कारण आन्तरिक द्वन्द्वमा नराम्ररी प्रताडित हुँदै गएका छन् । दक्षिणपन्थी अवसरवादलाई अवलम्बन गर्दै साम्यवादको दुरुपयोग गर्नमा अभ्यस्त छन् । नेपालका साम्यवादीले कार्ल माक्र्स, एन्जेल्स, लेनिन, माओ सबै वादलाई विकृत बनाउँदै आएका छन् । उनीहरू प्रायः सबै सुधारिएको पँुजीवादलाई अवलम्बन गर्दै साम्यवादको गन्तव्यमा पुग्न सकिने विश्वास राख्छन् । वर्ग संघर्ष र मजदुर किसानहरूको शासनलाई महत्व दिएका छैनन् । वर्ग संघर्ष र क्रान्तिलाई गौण मान्दै साम्यवादी आदर्शलाई सिद्धान्तमा सीमित बनाइराखेका छन् । जब राजनीति सिद्धान्तबाट विचलित हुन्छ, दलभित्र स्वार्थसँग मेल खाने समूह उपसमूहका आधारमा दलीय राजनीतिलाई सीमित गराउने प्रक्रियाको विकास हुन थाल्छ ।
सोभियत संघमा ख्रुस्चेबले स्टालिनको योगदानलाई नामेट गराउने क्रममा वर्ग संघर्षलाई वर्ग समन्वयमा आधारित गराउने प्रयास गरेका थिए । १९६० मा सम्पन्न भएको विश्वका साम्यवादीको सम्मेलनमा ख्रुस्चेबले सर्वहारा वर्गको मात्र नभई सम्पूर्ण जनताको राज्य, शान्तिपूर्ण सहअस्तित्व र समाजवादलाई आफ्नो कम्युनिस्ट कार्यदिशा निर्धारण गरेको उद्घोष गर्न पुगेपश्चात् माओलगायतले यसको विरोध गरे, यही बिन्दुबाट विश्वका कम्युनिस्टहरूको विभाजनको रेखा कोरिन पुग्यो । यसबाट साम्यवादी आन्दोलन सर्वत्र प्रभावित बन्दै गयो, स्वभावतः नेपालका साम्यवादीसमेत प्रभावित हुन पुगे ।
पुँजीवाद, समाजवाद र साम्यवादका विकृत रूपलाई साम्यवादीहरूले अवलम्बन गर्न थाले, निजी सम्पत्तिको आर्जन गर्न लालायित हुने प्रवृत्ति बढ्दै गयो । धर्म, संस्कृति, कुरीति र अन्धविश्वासलाई अन्त्य गर्ने अर्थपूर्ण अभ्यासबाट विश्वभरका साम्यवादी पछि हट्दै गएका छन् । वास्तविक गन्तव्यबाट विचलित साम्यवाद यतिखेर सत्तामा पुग्ने र स्वार्थसिद्ध गर्ने माध्यम बनेको छ । साम्यवादी शासन राजनीतिक अस्तित्व रक्षाका लागि आस्था र सिद्धान्तलाई जनतालाई दिग्भ्रमित बनाउने साधन बनेको छ । कम्युनिस्टहरू विश्वभर फुटपरस्त राजनीतिमा अभ्यस्त हुँदै गएका छन् । साम्यवादलाई फुटपरस्त बनाउन योगदान माओले पनि गरे । उनले अमेरिकासँग मिलेर तत्कालीन सोभियत संघलाई विघटनको अवस्था सम्म पु¥याउन घेराबन्दी गरेका हुन्, कम्युनिस्ट आन्दोलन समाप्त पार्न सक्रिय भूमिका स्चेब र माओले निर्वाह गरेको तथ्य विश्वको साम्यवादी राजनीतिक इतिहासले स्पस्ट पारेको छ ।
मालेमावादका आधारमा राजनीतिक सिद्धान्त निर्धारण गरेका नेपालका साम्यवादी विश्वमै कम्युनिस्ट राजनीतिमा देखिएको विचलन र धोखा धडीबाट प्रभावित हुने नै भए । ख्रुस्चेबकै पदचिह्नमा अघि बढ्दा नेपालका कम्युनिस्टहरूको इमानदारिता र प्रतिबद्धता प्रायः शून्य अवस्थामा पुगेको छ । उनीहरूको २००७ साल देखिको इतिहास अध्ययन गर्दा फुटपरस्त राजनीतिमा अभ्यस्त दिइराखेका छन् र यसले निरन्तरता प्राप्त गरी नै रहने अवस्था छ । दलीय विभाजनविरुद्ध देखिएका केही एमालेका नेता तथा कार्यकर्ताहरूले दल विभाजन रोक्न संस्थापन पक्षसँग मध्यमार्गीहरूले गरेको १० बुँदे सहमति यत्तिखेर अर्को विवादित विषय बनेको छ ।
१० बुँदे सहमतिको अन्तर्य
नेकपामा विभाजन भएपश्चात् व्यक्तिगत स्वार्थका कारण विशेष गरी नेपाल समूहद्वारा ओलीजीलाई घेराबन्दी गर्ने कार्यको प्रारम्भ हुन पुग्यो । व्यक्तिगत सौदाबाजीका आधारमा शासन सञ्चालन गर्न ओलीजीले अस्वीकार गर्नु र एक्लै शासन गर्न लालायित हुनु यसको प्रमुख कारण थियो । ओलीजीको गुटमा समाविष्ट हुन नसकेका जनाधार भएका तुलनात्मक रूपमा साम्यवादी सिद्धान्त आत्मसात् गरेका केही नेता दलीय विभाजन रोक्न र माधवजीसमेतलाई एमालेमै यथावत् राख्न १० बँुदे सहमति ओलीजीसँग गर्न सफल भए । तर, ओलीजीसँग मिलेर अघि बढ्न नसक्ने निष्कर्षमा पुगेका माधव नेपालजी आफ्ना समर्थकसहित भिन्न दल खोल्न सफल हुनुभयो । १० बुँदे समझदारी गरेर नेपालजीलाई समेत एमालेमै राख्ने उद्देश्य असफल भए पनि यसका प्रमुख पात्र जसले नेपालजीलाई ओलीजीविरुद्ध खडा गराउन र माधवजीलाई एमालेमा फर्किन नसक्ने बिन्दुमा पु¥याउन उल्लेखनीय भूमिका निर्वाह गरेका थिए । राजनीति सिद्धान्तबाट विचलित हुन जाँदा दलभित्र स्वार्थसँग मेलखाने समूह र उपसमूह निर्माण हुन गई दलीय राजनीतिलाई कुण्ठित गराउने खेल सुरु हुन थाल्छ ।
उनीहरूले नेकपा समाजवादीको हैसियत माले दलकै अवस्थाको रहने आँकलन गर्न पुगे । एमालेमै यथावत् रहन इज्जत जोगाई दिन यो सहमतिले काम गरेको हो । यसैका आधारमा दलबाट अलग नभएको र एमालेमै रही संघर्ष गर्ने सोच उहाँहरूमा भएको दाबी गरिँदै छ । १० बँुदे सहमतिको रटान नगर्न ओलीजीले सार्वजनिक रूपमै सुझाई सक्नुभएको छ । यसले गर्दा मध्यमार्गीहरू ओलीजीको समूहभित्र महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने अवस्थामा छैनन् । दल परित्याग गरी नेपालजीसँग समाहित हुन पनि साहस गर्न सकेका छैनन् । यस अर्थमा यो सहमतिको उपादेयता समाप्त भएको देखिँदै छ । १० बँुदे सहमतिको अवस्थाका सर्जक मुख्यमन्त्रीसमेत बनी पुनः हटिसकेका छन । उनीहरूका बीच मतैक्यता देखिएको छैन । एमाले परित्याग गर्न सकेका छैनन् । ओलीजीको गुटमा उनीहरूको इज्जत र सम्मान पनि देखिँदैन । उल्लेखनीय जिम्मेवारी पनि पाउन सक्ने स्थिति तत्काल देखिएन ।
गुटपरस्त र फुटपरस्त राजनीतिमा रमाउने र यसैलाई आफ्नो राजनीतिक संस्कारका रूपमा विकास गर्न सफल एमालेहरू र यही प्रवृत्तिमा विशेष दक्षता हासिल गरेका ओलीजीले आफ्नो राजनीतिक भविष्य यस एमाले भित्रको दलीय राजनीतिमा सुनिश्चित गरिसकेका छन् । उनको सम्पूर्ण प्रयास आफ्नो नेतृत्वलाई अकण्टक राखी आफ्ना समूहहरूको स्वार्थ सिद्ध गर्नुमा सीमित बन्नु हो । यसका लागि ओलीजीले प्रचण्डसँगको लिखित प्रतिबद्धतालाई स्वीकार नगरी नेकपा फुट हुने अवस्था सिर्जना गर्नुभयो । एमालेमा लामो समयसम्म उल्लेखनीय योगदान पु¥याएका र सो दललाई यस अवस्थामा सुदृढ गर्न सफल नेपालजीले दलभित्र नेतृत्वमा धावा बोल्ने सुनिश्चितता देख्दै गर्दा उनलाई एमालेभित्र रहन नसक्ने स्थिति बनाउनुभयो । उनका समूहमा रहेका मध्यमार्गीहरूलाई उपेक्षित अवस्थामा एमालेमै रहन बाध्य पारिएका छन् । यस परिस्थितिबाट अब ओलीजीको नेतृत्वलाई चुनौती दिन सक्ने व्यक्ति समग्र दलमा अभाव देखिएको छ । विधान महाधिवेशनका निर्णयहरूले यही अवस्थाको सुनिश्चितता गरेको छ । ओलीजीलाई १० बुँदे कार्यान्वयन गर्न असहज छ । किनकि माओवादीबाट एमाले प्रवेश गरेकालाई सम्मान जनक स्थानमा राख्ने उनको प्रतिबद्धतामा यसले प्रभाव पार्छ । ओलीजीसँग १० बँुदे सहमतिप्रति जिम्मेवार बन्ने वा बादल समूहसँग इमानदार रहने एक मात्र विकल्प थियो र दोस्रो विकल्प रोज्नुभयो । सुदूरपश्चिम इन्चार्ज लेखराजजीलाई दिएर यो सन्देश दिई सक्नुभएको छ । आफ्नो गुटको संरक्षणमा चट्टानी अडान राख्ने शैलीमा अभ्यस्त ओलीजीले पुनः गुटलाई समर्थन गर्नुभएको छ । १० बँुदेका सर्जक क्रमशः ओलीजीको भक्तिभाव प्रदर्शन गर्दै दलभित्र पलायन भएका छन् ।
सिद्धान्तका आधारमा गरिएको राजनीतिले साम्यवादी दल राजनीतिमा अघि बढ्न नसक्ने परिस्थिति विश्वभर बनेको छ । यो परिस्थितिबाट विशेष गरी भीम रावल र घनश्याम भुषालद्वय बढी प्रभावित भएका छन् । रावलजीको आफ्नै स्वभाव र शैलीले उनलाई असहज परिस्थितितर्फ उन्मुख गराइराखेको छ । आवेशमा आएर निर्णय लिने र आफ्नो प्रभुत्व दल भित्र जबरजस्ती स्थापित गर्न चाहने प्रवृत्तिले यो स्थिति बनेको हो किनकि २०६५ सालमा सम्पन्न महाधिवेशनमा रावलजीले उपाध्यक्षमा प्रतिस्पर्धा गरी पराजित हुनुप¥यो । पराजित भएपश्चात् पाँच महिनासम्म केन्द्रीय सदस्यको शपथसम्म पनि नलिई केन्द्रीय राजनीतिमा निष्क्रिय रहनुभयो । कटवाल प्रकरणबाट प्रचण्डजीको प्रधानमन्त्रीत्व समाप्त भई माधवजी प्रधानमन्त्री बन्नुभयो ।
भीम रावललाई गृहमन्त्री बन्ने अवस्था बनेपश्चात् बल्खु मुख्यालयमा गई केन्द्रीय सदस्यको शपथ लिनुभयो । हालका प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा माधवजीहरूले समर्थन गर्दै गर्दा सोही समूहमा रहेका रावलजीले सांसद पदबाटै राजीनामा दिनुभयो तर चार दिनमै फिर्ता लिनुभयो । यस प्रकारको ढुलमुले र आडम्बरयुक्त राजनीतिले रावलजीलाई यसपटक फाइदा हुने देखिएको छैन । भुषालजी एमालेभित्रका प्राज्ञिक क्षेत्रका हस्ती हुन् । साम्यवादको असली व्याख्याताका हैसियतमा उनको आफ्नै प्रभाव दलभित्र मात्र होइन नेपालको राजनीतिमा स्थापित छ । तर उनी एमालेभित्र वर्तमान समयमा एक्लो बृहस्पति साबित भएका छन् । भुषाल–रावलसहितका मध्यमार्गीहरूलाई एमालेभित्र राजनीति गर्न असहज अवस्था छ । यो क्रमले ओलीजीको नेतृत्व रहेसम्म निरन्तरता दिने देखिन्छ ।
उपसंहार
राजनीति सम्भावनाको खेल हो । १० औं महाधिवेसनको सँघारमा मूलप्रवाह अब यसैको तयारीमा छ । मध्यमार्गीहरूले आफ्नो समूहलाई निरन्तरता दिन सकिराखेको अवस्था छैन । व्यक्तिगत हैसियतमा सीमित प्रभावशाली नेताहरूले मात्र आफ्नो भूमिकालाई निरन्तरता दिई राख्न सक्छन् । यो महाधिवेशन ओलीजीका लागि अत्यन्त सहज, घनश्यामजी र रावलजीका लागि असहज देखिँदै छ । सिद्धान्तका आधारमा गरिएको राजनीतिले साम्यवादी राजनीतिमा अघि बढ्न नसकिने परिस्थिति विश्वभर बनेको छ । तसर्थ, अब २ जेठको रटानलाई परित्याग गरी सबै महाधिवेशनमा जुट्नु उपयुक्त हुनेछ । आफ्ना अडान र सिद्धान्तलाई मतदाताबीच पु¥याई निर्वाचनमा प्रतिस्पर्धा गर्न सबैले लागि पर्नुपर्छ । निर्वाचनको परिणाम मध्यमार्गीहरूको विपक्षमा जाँदा पुनः यो समूह अलग हुन सक्ने सम्भावनासमेत प्रबल छ । यस अर्थमा ओलीजीले सबैलाई समेटी अघि बढ्नुपर्छ । पूर्वाग्रही सोचका आधारमा राजनीतिलाई निरन्तरता दिनु दलका लागि प्रत्युत्पादक सिद्ध हुनेछ ।
साभार राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार